मुक्तिनाथमा धार्मिक पर्यटक वृद्धि - समता पोस्ट

सत्य सुचना मनोरञ्जन र खबरको संगालो

हेडलाईन

Revnue

Saturday 19 May 2018

मुक्तिनाथमा धार्मिक पर्यटक वृद्धि

समतापोस्ट- म्याग्दी । हिन्दू धर्मावलम्बीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा धार्मिक पर्यटकको आगमन बढेको छ । गत चैत र वैशाखमा सबैभन्दा बढी धार्मिक पर्यटकले मुक्तिनाथको भ्रमण गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित पर्यटक सूचना केन्द्रका अनुसार गत जनवरीदेखि अप्रिलसम्ममा १६ हजार ९ सय ८४ बाह्य पर्यटक मुक्तिनाथ पुगेका छन् । त्यसमा ८ हजार ५ सय ५६ पर्यटक भारतीय रहेका छन् । मुक्तिनाथ घुम्ने आन्तरिक पर्यटकको भने कुनै लेखाजोखा छैन । बाहिरी पर्यटकको तुलनामा दोब्बरले मुक्तिनाथको भ्रमण गरेको बताइएको छ । एक्याप इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख तुलसीप्रसाद दाहालले जेठ अन्तिमसम्म मुक्तिनाथमा पर्यटकको चाप बढ्ने बताए । ‘अहिले दैनिक सयौं बाह्य पर्यटक मुक्तिनाथ आइरहेका छन् । आन्तरिक पर्यटकको पनि घुइँचो छ,’ उनले भने, पर्यटकको चाप बढेपछि मुक्तिनाथ क्षेत्रका होटललाई भ्याइनभ्याई छ ।’

मुक्तिनाथ, रानीपौवास्थित ‘स्रेने गेष्टहाउसका सञ्चालक रामहरि फुँयालले पर्यटकको चाप बढेपछि मुक्तिनाथ क्षेत्रमा नयाँ होटल खुल्ने क्रम बढेको बताए । अधिकांश विदेशी पर्यटक मुक्तिनाथमै रात बिताउँछन् भने कतिपय पर्यटक मुक्तिनाथ घुमेर जोमसोम र अन्य ठाउँ जान्छन् । जोमसोमका होटल व्यवसायी अनिता शेरचन पछिल्लो समय आन्तरिक पर्यटकको सङ्ख्या बढेको बताउँछिन् ।

मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्रीको रोजाइमा मुस्ताङ पर्ने गरेको छ । यातायात सुविधाले पनि पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको हो । एक्याप जोमसोमका प्रमुख दाहालका अनुसार म्याग्दी हुँदै सडक मार्ग र पोखराबाट हवाई मार्ग भएर मुस्ताङ छिर्ने पर्यटकको सङ्ख्या सबैभन्दा बढी छ । यस्तै, मनाङ हुँदै थोरङ्लापास भएर मुस्ताङ छिर्ने पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । मुस्ताङ छिर्ने अधिकांश पर्यटक मुक्तिनाथ पुग्ने गरेका छन् ।

सूचना केन्द्रका अनुसार वर्षेनि मुक्तिनाथ आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढिरहेको छ । गतवर्ष कुल ४६ हजार ६ सय ७५ बाह्य पर्यटकले मुक्तिनाथ घुमेका थिए ।


No comments:

Post a Comment

Pages