ओली र नेपालसँग भीम रावल असन्तुष्ट, केन्द्रीय सदस्यको सूची सच्याउन दबाव - समता पोस्ट

सत्य सुचना मनोरञ्जन र खबरको संगालो

हेडलाईन

Revnue

Monday 21 May 2018

ओली र नेपालसँग भीम रावल असन्तुष्ट, केन्द्रीय सदस्यको सूची सच्याउन दबाव

७ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले शीर्ष नेतालाई भेटेर केन्द्रीय सदस्य मनोनयन सच्याउन चेतावनी दिएका छन् । ९ सदस्यीय हाइकमाण्डमा नपरेपछि असन्तुष्ट बनेका रावलले पूर्व एमाले समूहबाट मनोनित ४५ जना सदस्यको सूचीमा आपत्ति जनाएका हुन् ।
रावलले आइतबार अध्यक्ष केपी शर्मा ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर असन्तुष्टि जनाएका छन् । ओली र नेपालले तय गरेको सूचीमा ७ नम्बर प्रदेशबाट समावेश भएका नाममा रावलले असहमति जनाएका छन् । सूची नसच्याए स्वीकार्य नहुने जानकारी समेत गराइएको रावलनिकट स्रोतले जनाएको छ ।पूर्वएमालेको तर्फबाट मनोनित ४५ जनाका सूचीमा ७ नम्बर प्रदेशबाट भानुभक्त जोशी, दयालबहादुर शाही, लीला भण्डारी र गौरी ओलीको नाम समावेश छ । प्रदेशका वरिष्ठ र योग्य नेताहरुलाई पाखा लगाएर जनता कार्यकर्ताले नचिनेका मान्छेलाई समेटिएको आरोप रावलको छ ।
रावलले ओली र नेपाल मिल्दा आफू खुसी भए पनि दुई नेता मिलेर मनपरी गरेको भन्दै आपत्ति जनाएका छन् । रावल तत्कालीन नेकपा एमालेको उपाध्यक्ष तथा ७ नम्बर प्रदेश संयोजक थिए । पार्टी एकता प्रक्रियादेखि मनोनयनसम्म आफूसँग सल्लाह नगरिएको र बाइपास गरिएको गुनासो रावलले गरेका छन् ।
रावलले राजेन्द्रसिंह रावल, गोविन्द कलौनी, दिनेशचन्द्र सुवेदी, हर्कबहादुर सिंह, माया भट्ट, दामोदर भण्डारीलगायतको नाम सिफारिस गरेको बताइएको छ । तर उनको सिफारिसभन्दा बाहिरबाट नेताहरुले नाम ल्याएपछि असन्तुष्टि बढेको हो ।
मनोनित केन्द्रीय सदस्यहरुको सूची नसच्याए तल्लो तहमा भेला आयोजना हुने चेतावनी समेत नेतृत्वलाई दिइएको छ । केन्द्रीय सदस्य, जिल्ला कमिटी, संघीय संसद् र प्रदेशसभा सांसदहरुका साथै स्थानीय तहका पदाधिकारीले समेत भेला आयोजना दबाव दिइरहेको रावलनिकट स्रोतले जनाएको छ ।
नेकपाका केन्द्रीय सदस्य तथा तत्कालीन एमालेका कैलाली जिल्ला इञ्चार्ज झपट रावलले मनोनयनको सूची सच्याउन आग्रह गरिएको बताए । उनले हाइकमाण्डमा नपरेकोमा रावल असन्तुष्ट रहेको भन्ने हल्ला गलत रहेको समेत प्रष्ट पारे ।
तत्कालीन एमालेमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँग समदूरीमा रहेर काम गरेका रावल प्रभावशाली भूमिकामा थिए । माधव नेपाल प्यानलबाट उपाध्यक्ष जिते पनि रावल ओलीको मन जितेर बसेका थिए । तर पार्टी एकीकरण प्रक्रियामा बाइपास गरिएको भन्दै असन्तुष्ट बनेका छन् ।
नेकपाको ९ सदस्यीय हाइकमाण्ड बन्दा पनि उनी नपरेपछि ओली र माधव नेपालसँग आपत्ति जनाएका थिए । केन्द्रीय सदस्य मनोनयनमा समेत आफूले भनेका मान्छे नपरेपछि रावलले सूची सच्याउन चेतावनी दिएका हुन् ।
रावलले आजै मध्याह्न काठमाडौंको सिनामंगलमा प्रदेशका सांसदहरुसँग छलफल आयोजना गरेका छन् । यद्यपि, यो छलफल बजेटमा प्रदेशका कस्ता आयोजनाहरु समावेश गर्न सुझाव दिने भनेर आयोजना गरिएको स्रोतले जनाएको छ ।
आले भन्छन्– व्यक्तिको पछि लाग्दैनौं

यसैबीच, नेकपाका केन्द्रीय सदस्य तथा डोटी जिल्लाका सांसद् प्रेम आलेले भने रावलको असन्तुष्टि व्यक्तिगत रहेको र उनको पछि प्रदेशका नेताहरु नलाग्ने बताएका छन् । पार्टीले गरेको निर्णय आफूहरुलाई स्वीकार्य रहेको आलेले बताए ।
तत्कालीन एमालेका डोटी इञ्चार्ज आलेले भने, ‘पार्टी एकता सबैभन्दा ठूलो उपलब्धि हो । यो ऐतिहासिक घडीमा व्यक्तिले के जिम्मेवारी पायो वा पाएन भन्ने कुरा गौण हुन्छ । अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाललाई हाम्रो पूर्ण समर्थन छ ।’
अवसर पाउँदा रावलले कहिल्यै सुदूरपश्चिमबाट अरुलाई मौका नदिएको र पटक–पटक आफूमात्र मन्त्री बन्न गएको आरोप रावल विरोधी नेताहरुको छ । आफू बन्न नपाए अरुलाई बन्न नदिने खेलका कारण अहिलेको सरकारमा ७ नम्बर प्रदेशबाट तत्कालीन एमालेले मन्त्री नै नपाएको गुनासो उनीहरुको छ ।

No comments:

Post a Comment

Pages